५ मंसिर २०८१, बुधबार
काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस पटक आफूले सरकारमा बसेर नयाँ जनयुद्धको सुरुआत गरेको बताएका छन् ।
मङ्गलवार बिहान पार्टीको जनतासँग माओवादी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ क्रान्ति नथाल्ने हो भने परिवर्तन उल्टिएर देश दुर्घटनामा पर्ने खतरा देखिएकाले आफूले प्रधानमन्त्रीको रूपमा माओवादीलाई मजबुत पार्न खोजेको बताए ।
उनले माओवादीको शक्ति कमजोर हुनासाथ प्रतिक्रियावादीले के के गर्छन् भन्ने देखिएकाले आफू शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनका लागि अग्रसर भएको बताए । उनले आफूमाथि मात्रै जनयुद्धकालीन ३६ वटा मुद्दा रहेको भन्दै माओवादी कमजोर हुनासाथ मुद्दाहरू थपिने दाबी गरे।
उनले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताए।
‘देश रूपान्तरणको नयाँ सङ्कल्पसहित एउटा अभियानको सुरुवात गरिएको छ। यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ। त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ। जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरुवात गर्नेछू,’ प्रधानमन्त्रीले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ। यो यहीँ रोकिने वाला छैन । भ्रष्टाचारविरूद्भको अभियान थप तीव्र भएर जान्छ। हामी विरूद्ध घेराबन्दी छ, अनेकौँ कु प्रचार छ। तर, हामी दृढताका साथ नै अघि बढ्छौँ ।’
परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न नसक्ने प्रधानमन्त्री प्रचण्डकाे भनाइ छ।
‘नेपालको हितका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरिएको छ। त्यसको नतिजा क्रमशः आउनेछन्’ प्रधानमन्त्री प्रचण्डले भने्, ‘कुटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छटपटी सुरु भएको छ। १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता सानो कुरा होइन। यी कामलाई तपाईँहरूले जनताको बिचमा लैजानुस्।’