सुन प्रकरण : महराका राहुल पक्राउ

होमल्याण्ड खबर

२०८० भाद्र १३ गते, बुधबार १६:३४ मा प्रकाशित

भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा राहुल महरा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले महरालाई नियन्त्रणमा लिइएको पुष्टि गरेकी हुन् ।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

पूर्वसभामुख महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउँदै आएका छन् । चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारिका रुपमामात्र चिनेको बताएका उनले सुन तस्करी प्रकरणमा बिनाकारण आफ्नो नाम मुछिएको आरोप लगाएका छन् ।

कल डिटेल्स रिपोर्ट (सीडीआर) अनुसार विमानस्थलमा चिनियाँ नागरिक ली हानसोङले सुन तस्करी गरेको मिति २०७९ पुष १० गतेदेखि विमानस्थल भन्सार कार्यालयले आन्तरिक छानबिन थालेको चैत महिनाको अन्तिमसम्ममा महराले दुई जना चिनियाँ सुन तस्करसँग २२ पटक कुराकानी गरेको पाइएको हो ।