५ मंसिर २०८१, बुधबार
ललिता निवास प्रकरणमा पक्राउ परेका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो।
उक्त धरौटी रकम तिर्न नसकेपछि उनी केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका हुन् ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको थियो । जसमध्ये एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो ।
अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँग दुई करोड ४६ लाख धरौटी माग गरेको थियो । उनी उक्त रकम बुझाएर आइतबार राति नै छुटेका थिए । गुरूङसहित बाँकि सबै जना छुटिसकेका छन् । अमिन श्रेष्ठले पनि पछि धरौटि रकम बुझाए छुट्नेछन् । रकम नबुझाएको खण्डमा मुद्दाको फैसला नभईन्जेलसम्म कारागार मै बस्नुपर्ने हुन्छ ।
सरकारी वकिल कार्यालयले उनीहरुमाथि ललिता निवासको १४३ रोपनी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा ल्याएको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।