२६ लाख रकमसहित पक्राउ परेका कर अधिकृतलाई अख्तियारको जिम्मा लगाइयो

होमल्याण्ड खबर

२०८० भाद्र २५ गते, सोमबार १३:५४ मा प्रकाशित

नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगन्जमा बुझाइएको छ।

आफूसँग रहेको रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारबाहीका लागि उनलाई अख्तियारमा बुझाइएको हो।

श्री एयरलाइन्सको उडानबाट नेपालगन्जदेखि काठमाडौँ आउँदै गरेको अवस्थामा सोमवार बिहान उनको झोलामा रहेको २६ लाख नगदसहित प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नारायण डाँगीका अनुसार नगदसहित पक्राउ परेका सापकोटाले स्रोत खुलाउन नसकेपछि अख्तियारलाई बुझाइएको हो ।

‘दश लाख भन्दा माथिको नगद रुपैयाँको स्रोत खुलाउनुपर्छ तर, उहाँले खुलाउन सक्नु भएन,’ डाँगीले भने,‘स्रोत नखुलेपछि हामीले अनुसन्धानका लागी अख्तियारको जिम्मा लगाइसक्यौ ।’