५ मंसिर २०८१, बुधबार
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। इतिहासमा पहिलो पटक एन्फा अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो। एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४५ सदस्यको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरिएको हो।
अविश्वासको प्रस्ताव दर्ता हुनासाथ अध्यक्ष स्वत: निलम्बनमा परेको भन्दै अब ३० दिनभित्र विशेष साधारणसभा बोलाएर भोटिङ गर्नुपर्ने पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले बताए।
‘अविश्वासको प्रस्ताव दर्ता गर्नलाई ३४ जना सदस्य पर्याप्त हुन्छ। हामीले तत्काललाई ४९ जना पुर्याएका छौं’, उनले भने। असन्तुष्ट पक्षहरूले १९ वटा आरोपसहित अध्यक्षविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।
यसअघि क्लबहरूले भर्चुअल साधारणसभा गर्नु विधानविपरीत हुने भन्दै भौतिक उपस्थितिको माग गरेका थिए। उनीहरूले भौतिक उपस्थिति नभए बहिष्कार गर्ने बताएका थिए। एन्फाले जबर्जस्ती रूपमा नै अनलाइन बैठक आह्वान गरेपछि उनीहरू थप आक्रामक बनेका हुन्।
क्लबहरूको चेतावनीलाई वेवास्ता गर्दै एन्फाले आइतबार स्थगित गरेको साधारणसभा एकतर्फी रूपमा सोमबार बोलाएपछि बाध्य भएर अविश्वासकाे प्रस्ताव अगाडि बढाउनु परेको शेर्पाले बताए।
‘उहाँहरू विधिविधानको धज्जी उडाउँदै, लगातार एकपछि अर्को खराब निर्णयहरू गरेर अर्थिक चलखेल गर्दै अगाडि बढ्न खोज्नु भयो। उहाँहरूले फुटबललाई संधैका लागि ध्वस्त बनाउन खोजेपछि बाध्य भएर यो कदम उठाएका हौं’, उनले भने।
आइतबार लागि बोलाएको एन्फा विशेष साधारणसभा कोरम नपुगेपछि पुन: स्थगित भएकाे थियाे। सहिद स्मारक लिगका अधिकांश क्लबको विरोधका बावजुद हिजाे तय गरिएको एन्फाको भर्चुअल साधारणसभामा कुल ८६ सदस्यमध्ये ३८ जनाको मात्र उपस्थिति भएपछि स्थगित गरिएको हाे।
लगत्तै आकस्मिक बैठक बसेर सोमबारका लागि साधारण विशेष साधारणसभा बोलाइएको थियो। तर सोमबार आइतबारभन्दा कम संख्या भएपछि बैठक स्थगित गरिएको शेर्पाले बताए।
उनले भने, ‘आज २० जनाभन्दा कम उपस्थित भएपछि बाध्य भएर स्थगित गरेको भन्ने सुनेको छु। तर अब विधानअनुसार प्रक्रिया अघि बढ्ने छ।’
एन्फा प्रवक्ता सुरेश शाहले भने आधिकारीक रूपमा अविश्वासको प्रस्ताव दर्ता नभएको बताए।
उनले भने, ‘आधिकारीक रूपमा अविश्वासको प्रस्ताव दर्ता भएको मलाई जानकारी छैन। तर आजका लागि तय भएको साधारणसभा भने छलफल र सहकार्य गर्ने उद्देश्यसहित हामीले स्थगित गरेका छौं।’