एमाले उपाध्यक्ष नेम्वाङलाई प्रधानमन्त्री दाहालले दिए अन्तिम श्रद्धाञ्जली

होमल्याण्ड खबर

२०८० भाद्र २६ गते, मंगलवार १५:०३ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन्।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूले नेम्वाङप्रति श्रद्धाञ्जली दिएका हुन्। उनीहरुले फूलमाला चढाएर श्रद्धाञ्जली व्यक्त गरे।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली दिएका थिए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। श्रद्धाञ्जली दिन एमाले नेता,कार्यकर्ता र शुभचिन्तकहरूको पार्टी कार्यालयमा भीड लागेको छ।

हृदयघात भएपछि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराउने क्रममा मंगलबार राति १ स्३० बजे निधन भइको थियो। नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा राखिएको हो। नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी कार्यालयमा राखिने जनाइएको छ।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। तर, छोराहरू विदेशमा रहेकाले उनीहरू आएपछि मात्रै नेम्वाङको अन्त्येष्टि गरिने जनाइएको छ।