सुदूरपश्चिमका मुख्यमन्त्रीसहित सबै मन्त्री प्रधानमन्त्री भेट्न काठमाडौंमा

होमल्याण्ड खबर

२०८० भाद्र २८ गते, बिहीबार १४:१० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न सुदूरपश्चिमका मुख्यमन्त्रीसहित सबै मन्त्री काठमाडौं आएका छन्।

सुदूरपश्चिमका महत्त्वपूर्ण माग सम्बोधन गराउन प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा सबै मन्त्रीहरू काठमाडौं आएका हुन्।

५ असोजदेखि चीनको भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री दाहाललाई सुदूरपश्चिमका माग सम्बोधन गराउने उद्देश्यले काठमाडौं आएको बताइएको छ।

मुख्यमन्त्री शाहसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, आर्थिक मामिला मन्त्री नरेश शाही आएका छन्।

आज साँझ ५ बजे प्रधानमन्त्रीलाई भेटेर सुदूरपश्चिमका दुई महत्त्वपूर्ण विषय चीन भ्रमणमा समेट्न आग्रह गर्ने सहभागी एक मन्त्रीले जानकारी दिए। उनका अनुसार उत्तर दक्षिण जोड्ने दुई नाका सुचारुका लागि चीन सरकारसँग समन्वय गर्न प्रधानमन्त्रीलाई मुख्यमन्त्रीसहितका मन्त्रीहरूले संयुक्त अपिल गर्ने कार्यक्रम रहेको छ।

बझाङको उरै भन्ज्याङ हुँदै तिब्बतको ‍९ताक्लाकोट० सीमा नाका र महाकाली कोरिडोर हुँदै पुगिने तिंकर नाकाका विषय चीन भ्रमणको एजेन्डा बनाउन मुख्यमन्त्री सहितका मन्त्रीहरूले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भेट्न लागेका हुन्।