सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आज अट्वारी पर्व मनाइँदै

होमल्याण्ड खबर

२०८० भाद्र ३१ गते, आईतवार १२:०४ मा प्रकाशित

आज थारु समुदायको अटवारी पर्व विशेष रुपले मनाउँदैछन्।

पश्चिम नेपालमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा ‘अटवारी’ पर्व आज (आइतबार र भोलि) मनाइँदै छ।

यो पर्वमा दाजुभाइहरुले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ ।

आज (आइतबार) दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकारहरु बनाउँछन् भने भोलि बिहान ७, ९, ११, १३ विजोडी प्रकारको तरकारीलगायतका खानेकुरा पकाएर दिदीबहिनीलाई कोसेली पुर्‍याइदिन जान्छन् । दाजुभाइ वा दिदीबहिनी नहुनेहरुले यो पर्वमा खल्लो महसुस गर्छन् भने कतिले दाजुभाइ दिदीबहिनी बनाउने पनि गरेका छन् ।

दाजुभाइहरु आज दिनभरि व्रत बसेर बेलुका फलफूल र विभिन्न थरिका रोटीका परिकार पकाउँछन् र भोलि बिहान विभिन्न थरिका तरकारीहरु बनाउँछन् । भोलिपल्ट बनाउने तरकारी ७, ९ वा ११ थरिका बिजोडी संख्यामा बनाउनुपर्ने मान्यता छ । त्यही परिकारहरु लिएर दाजुभाइहरु विवाहित दिदीबहिनीलाई भेट्न उनीहरुकै घर जान्छन् ।

आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रुपमा लिइने ‘अटवारी’ पर्व विशेषरुपमा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा डगौरा–चौधरी समुदायमा मनाइने गरिन्छ । यो समुदायले आइतबारको दिनलाई ‘अटवारी’ नामले चिन्ने हुँदा आज यो पर्व प्रारम्भ भई सोमबार (भोलि) सम्म मनाइन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिनबाट यो पर्व शुरु हुन्छ ।

व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ ।

अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । महाभारत कालमा वनबास जान बाध्य भएका पाण्डव मध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुशियाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन शुरु भएको मानिन्छ।

यसवर्ष पनि अटवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश सरकारले बिदा दिएक छन् ।