कांग्रेस बैठकमा अर्थमन्त्री महतकाे आलोचना

होमल्याण्ड खबर

२०८० आश्विन ७ गते, आईतवार ११:५९ मा प्रकाशित

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि अर्थमन्त्री प्रकाशशरण महतकाे कार्यक्षमतालाई लिएर आलोचना भएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसकै अर्थमन्त्री हुँदा देश आर्थिक संकटमा पर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

केन्द्रीय समितिको बैठकमा पौडेलले अर्थतन्त्रमाथि संकट आउँदा पनि कांग्रेसले निकास दिन नसकेको बताए ।

‘हामी आर्थिकरूपमा कमजोर अवस्थामा पुगेका छौं । रेमिटेन्स हेरी समस्या छैन भनेर ढुक्क नबनौं । बैंकमा चार खर्ब पैसा थुप्रिएको छ । तर, अथाह पैसा भए पनि बजारमा किन आउँदैन ? अर्थमन्त्री हाम्रो हुनुहुन्छ, तर आर्थिक संकट छ । यसमा हामीले जवाफ दिनुपर्छ,’ पौडेलले भने, ‘३५ प्रतिशत सटर बन्द छन् । एक बोरा चामलमा ३ सय रुपैयाँ बढेको छ, यसैले हामी जवाफदेही र जिम्मेवार हुनैपर्छ ।’

अर्थतन्त्र धरासायी हुँदा गठबन्धन जोगाउनु मात्रै उपलब्धि नभएको उनको भनाइ ।

यसअघि पनि कांग्रेसको बैठकमा डा. गोविन्दराज पोखरेल, मीन विश्वकर्मासहितका नेताले कांग्रेसको अर्थमन्त्री हुँदा अर्थतन्त्र झन् धराशायी हुनु दुःखद् भएको बताएका थिए ।