८ दिनपछि अभियन्ता ईः लाई भेट्न पुगिन उपमेयर सुनिता डंगोल

होमल्याण्ड खबर

२०८० आश्विन ९ गते, मंगलवार ११:१६ मा प्रकाशित

अभियन्ता ई:लाई  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले भेटेकी छन्।

महानगर प्रमुख बालेन शाह चुनावी वाचा सम्झाउँदै नागरिक जवाफदेहिताको मागसहित आन्दोलनमा रहेका ई:लाई ८ दिन पछि डंगोलले उनकाे अनसनस्थल राष्ट्रिय सभागृह अगाडि गएर भेटेकी हुन्।

भेटका क्रममा उपमेयर डंगोलले आफूहरुको मागबारे चासो व्यक्त गरेकी ई:ले उल्लेख गरेका छन्।

उपमेयर डंगोलले कल्याणकारी शासनका लागि प्रतिबद्धता व्यक्त गरेको तथा सडक (फुटपाथ)मा व्यवसाय सञ्चालन गर्नेहरुका लागि वैकल्पिक व्यवस्थासहितको नीति बनाउन सक्दो प्रयास गर्ने बताएको पनि ई:ले उल्लेख गरेका छन्।

ई:ले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर डंगोललाई आफ्ना चुनावी वाचा पूरा गर्न  ‘नागरिक जवाफदेहिता’को माग गर्दै १९९ घण्टासम्म उभिने विरोध कार्यक्रम सुरु गरेका थिए। ई:ले उभिएर विरोध सुरु गरेको १६५ घण्टापछि उपमेयर डंगोलले भेटेर उनका मागबारे चासो व्यक्त गरेकी हुन्।

सोमबार मेयर बालेन शाहले हुकुमी शैलीमा वार्तामा बोलाएको कुरा सार्वजनिक भएपछि मेयर बालेन सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।