एमाले बागमति प्रदेश अधिवेशनको बन्दसत्र सुरु

होमल्याण्ड खबर

२०८० आश्विन ९ गते, मंगलवार ११:२८ मा प्रकाशित

 नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु भएकाे छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्दसत्र तोकिएको समयभन्दा ढिला गरी सुरु भएको हो ।

प्रतिनिधि विवादका कारण ढिला भएको बन्दसत्रमा सहमतिबाटै नेतृत्व चयनको प्रयास गरिएको छ ।

एमाले केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाशप्रसाद ढुंगेल, एमालेका पूर्व पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ, चितवनका एमाले नेता कृष्णभक्त पोखरेल तथा एमालेका वर्तमान प्रदेश अध्यक्ष केशवप्रसाद पाण्डेले नेतृत्वका लागि दाबी गरिरहेका छन् ।

उपाध्यक्षको लागि एमाले मकवानपुरका नेता अनन्तप्रसाद पौडेल, चितवनका दावा लामा,दोलखाका ईश्वर चन्द्र पोखरेल,काभ्रेका कुमार खकुरेल लगायतको चर्चा छ ।

अधिवेशन उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर उम्मेदवारी दर्ता गरे खारेज हुने चेतावनी दिएपछि अहिले प्रत्याशी नेताहरू एकल उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन्।

बन्दसत्रमा राजनीतिक, सांगठनिक प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया भाेलि १० गते हुनेछ। अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४० सदस्यीय समिति चयन गर्ने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ। यस अघिकाे ४४७ सदस्यीय समितिलाई अहिले सानाे पारिएकाे हाे ।