५ मंसिर २०८१, बुधबार
नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन जारी छ। सोमबार काठमाडौंको भृकुटीमण्डपमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेको अधिवेशन भोलि नेतृत्व चयन गरेर सकिँदैछ ।
अन्तिम नामावली साँझ प्रकाशित हुने बताइएकाे छ।
त्यस्तै, बुधवार मध्याह्न १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्न कार्यतालिका सार्वजनिक गरिएको छ ।
अधिवेशनमा सर्वसम्मत् नेतृत्व चयन गर्ने प्रयास भएपनि अहिलेसम्म सफल भएको छैन। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयन गर्न गरेको आग्रह गरे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । जसका कारण निर्वाचन मार्फत नै नेतृत्व चयन हुने देखिएकाे छ।
एमाले बागमतीको अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहालबीच प्रतिस्पर्धा हुने भएको छ।
दुई नेताबीच सहमति नजुटेपछि स्वस्थरुपमा प्रतिस्पर्धा हुने भएकाे हाे। ढुंगेल बागमती प्रदेशका पूर्व अर्थमन्त्री हुन् भने दाहाल मकवानपुरबाट तीन पटक संघीय सांसद निर्वाचित भएका थिए ।
बिहीबार (भोलि) बिहान ११ बजे मतदान हुने तय भएको स्थायी कमिटी सदस्य तथा निर्वाचन मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र भएको अधिवेशनको मतदान भने ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा गर्ने तयारी छ ।
भोलि सम्पन्न हुने प्रदेश अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवगरि ५ जनाको पदाधिकारी र २४० जनाको कार्यसमिति चयन गर्नेछ । त्यसका लागि प्रदेशमा रहेका १३ वटै जिल्लाबाट १२ सयको हाराहाीमा महाधिवेशन प्रतिनिधि छनोट भएका छन्।