एसियाली खेलकुद : माल्दिभ्सविरुद्ध नेपालको सानदार जीत

होमल्याण्ड खबर

२०८० आश्विन १४ गते, आईतवार १०:५९ मा प्रकाशित

चीनमा जारी १९औं एसियाली खेलकुदकाे क्रिक्रेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ।

तीव्र गतिका बलर अभिनाश बोहराको कीर्तिमानी ६ विकेटसँगै नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्समाथि १ सय ३८ रनको सानदार जित निकाल्दै क्वाटरफाइनलमा पुगेको छ ।

नेपालले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १९.३ ओभरमा ७४ रन बनाउँदै अलआउट भयो ।

माल्दिभ्सका लागि मुआइयाथ घानीले सर्वाधिक ३३ रन बनाए । माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अविनाश बोहराले सर्वाधिक ६ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१२ रनको विशाल योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए । २७ बल खेलेका उनले ३ छक्का र तीन चौका प्रहार गरे ।

त्यस्तै कुशल मल्ल ४७ रन बनाएर नटआउट रहे । २० बल खेलेका मल्लले तीन चौका र एक छक्का हाने ।

यस्तै कुशल भुर्तेलले ३५,गुल्सन झाले ३५ र विनोद भण्डारीले १३ रन बनाए ।

आसिफ शेख ६, दिपेन्द्र सिंह ऐरी ६ र सन्दीप जोरा ५ रन बनाएर आउट भए । सोमपाल कामी एक रनमा नटआउट रहे ।

माल्दिभ्सका लागि नजवान इसमैलले सर्वाधिक तीन विकेट लिए ।

नेपालले यसअघि मङगोलियाविरुद्ध कीर्तिमानी जीत निकालेको थियो ।

क्वाटरफाइनलमा पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले सोझै मौका पाएको थिए । समूह सी बाट मलेसिया क्वाटरफाइनलमा आएको छ । समूह बी बाट आज जापान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेता टोली क्वाटरफाइनलमा आउनेछ । क्वाटरफाइनलका खेलहरु मंगलबार र बुधबार हुनेछन्