तीनकुनेमा सडककाे खाल्डोमा मोटरसाइकल खस्दा १ जनाको मृत्यु

होमल्याण्ड खबर

२०८० आश्विन १४ गते, आईतवार ११:२७ मा प्रकाशित

काठमाडौंको तीनकुनेस्थित शान्तिनगरमा सडककाे खाल्डाेमा माेटरसाइकल खस्दा १ जनाको मृत्यु भएको छ।

बागमती नदीमा पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाकाे मृत्यु हुनुका साथै अर्का १ जना घाइते भएका छन्।

प्रहरी बृत्त नयाँ बानेश्वरका अनुसार आइतबार राति बागमती प्रदेश ०२–०३९ प ११९७ नम्बरको मोटरसाइकल बागमती नदी छेउमा पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेको थियो।

प्रहरीले घटनास्थलबाट मोटरसाइकलका चालक भक्तपुरको चागुनारायण–४ घर भएका २० वर्षीय सरोज गुरुङ र चागुनारायण–४ नै घर भएका १७ वर्षीय सुशील गुरुङलाई उद्धार गरेको थियो। उद्धार गरिएकाहरुलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो।

घाइतेमध्ये १७ वर्षीय सुशीललाई आइतबार बिहान ४:४० बजे चिकित्सकले मृत घोषित गरेका प्रहरीले जनाएको छ। मोटरसाइकल चालक २० वर्षीय सरोज गम्भीर घाइते छन्। प्रहरीका अनुसार दाहिने खुट्टा भाँच्चिएको र उनी बोल्न नसक्ने अवस्थामा रहेका छन्।