महँगी र कालोबजारी राेक्न सरकारसँग नेविसंघको माग

होमल्याण्ड खबर

२०८० आश्विन १८ गते, बिहीबार १३:५४ मा प्रकाशित

नेपाल विद्यार्थी संघले महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।

संघका अध्यक्ष दुजाङ शेर्पाले बिहीबार विज्ञप्ति जारी गर्दै चाडवाडको मुखमा जनताको ढाड सेक्ने गरी अस्वभाविकरुपमा बढेको महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

नेविसंघले पछिल्लो एक महिनाको अन्तरमै १ सय १५५ प्रतिशतसम्म मूल्यवृद्धि भएको पाइएकोप्रति सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

‘खाद्यान्न लगायत दैनिक उपयोग्य वस्तुको अस्वभाविक मूल्यवृद्धिका कारणले विद्यार्थी, निम्न आय भएका श्रमजीवी, दैनिक ज्यालादारी र सर्वसाधारणको जनजीवन थप कष्टकर बन्दै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको नियमन गर्ने निकायले नियमित अनुगमन गर्न नसक्दा व्यवसायीहरूले मनपरी ढंगबाट मूल्यवृद्धि गर्दै आइरहेका छन् । यसरी चुस्त बजार अनुगमनको प्रणालीको विकास गर्न नसक्नु, माग र आपूर्तिको वैज्ञानिक तथ्यांक राख्न नसक्नु, म्याद गुज्रेको सामान बिक्री वितरण गर्नु, खाद्यान्नको कृत्रिम अभाव सिर्जना गर्नु र कालोबजारी नियन्त्रणमा राख्न नसक्नु सरकार गैरजिम्मेवार रहेको नेविसंघको ठहर छ ।’

अध्यक्ष शेर्पाले चाडवाडलक्षित गरी बजार अनुगमन बढाउन र कालोबजारी रोक्नसमेत माग गरेका छन् । ‘पछिल्लो महिना १९ सय रुपैयाँ पर्ने २५ किलोको बोराको चामलको मूल्य अहिले २२ सय रुपैयाँ पुगेको छ। ८० रुपैयाँमा पाइने चिनीको मूल्य अहिले ११० रुपैयाँ पुगेको छ । ५ सय ५० रुपैयाँ किलोको जिरा अहिले १ हजार ३५० रुपैयाँ पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अस्वभाविक महँगी र मूल्यवृद्धिलाई यथाशीघ्र नियन्त्रण गर्न सरकारले अनुगमन र नियन्त्रणलाई कडाइका साथ लागू गर्नुपर्ने, कालोबजारी रोक्नु पर्नु र सुपथ मूल्यका पसलहरूको व्यवस्थापन गर्न नेविसंघ जोडदार माग गर्दछ ।’