रिगलको आममाफीमा ठूलाे आर्थिक चलखेल भएको छ : गगन थापा

होमल्याण्ड खबर

२०८० आश्विन १८ गते, बिहीबार १४:३४ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद गगन थापाले गम्भीर अपराधमा दोषी ठहर भएका योगराज ढकाल ‘रिगल’को रिहाइमा ठूलो आर्थिक चलखेल भएको बताएका छन्।

बिहिवार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले कानूनका अनेक छिद्रमा टेकेर गम्भीर अपराधमा दोषी देखिएकालाई रिहाइ गर्नुमा धेरै चलखेल भएको बताएका हुन्।

‘६७० जना रिहाइ हुँदा केहीलाई कानूनी छिद्र खोजेर पनि उन्मुक्ति दिइएको छ । गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद मिनाहा गरिएको छ । यसमा गम्भीर प्रश्न उठेको छ । सरकारले संसदमा उभिएर कारण बताउनुपर्छ । जवाफ दिनपर्छ । भाग्न पाइदैन । सार्वजनिक प्रश्न उठेपछि जवाफ दिनुपर्छ’ थापाले भने, ‘आर्थिक अनियमितताको प्रश्न उठेको छ । कसको सिफारिस गर्ने र कसकोमा नगर्ने ? यसमा ठूलो आर्थिक चलखेल छ । यसतर्फ ध्यान जानुपर्छ ।’

अदालतको व्याख्या र धेरै कानून छिद्रमा टेकेर यस्तो गरिएको भन्दै उनले यस्ता छिद्रलाई टाल्नुपर्ने बताएका छन् ।

‘दुई तीन कानुन होइन । सबै छिद्र टाल्नुपर्छ । कानुन फिर्ता गरेर एकीकृत शंसोधन, परिमार्जन गर्नुपर्छ । नियममा होइन कानुनमा व्याख्या गर्नुपर्छ । किनकि भोलि कसैले पनि अपव्याख्या नगरोस्’ थापाले भने, ‘नभए फेरि फागुनमा ७ मा फेरि यस्तै घटना हुन्छ । सञ्चार माध्यममा समाचार आउँछ । अनि फेरि यस्तै बहसमा उत्रिनुपर्ने अवस्था आउँछ । यसैले दण्डहीनतालाई प्रश्रय दिने उचित होइन । यस्ता प्रश्न उठेपछि वैधता गुम्छ । कानून मिच्ने र धज्जी उडाउने काम सरकारले गर्नु हुँदैन ’।