सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले थाल्यो काम, यी हुन् पहिलाे बैठकमा निर्णय

होमल्याण्ड खबर

२०८० आश्विन १८ गते, बिहीबार १५:०२ मा प्रकाशित

सुन तस्करी प्रकरण सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको पहिलो बैठक बसेको छ।

आज सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आयोगका अध्यक्ष डिल्लीराज आचार्यले पहिलो बैठकबाटै कार्य प्रारम्भ भएको जानकारी गराएका हुन् ।

गृह मन्त्रालयको पुरानो भवनको परिसरस्थित कार्यालयमा बसेको आयोगको बैठकले विभिन्न ५ वटा निर्णय गरेको आचार्यले बताए।

आचार्यले आयोगको कार्यक्षेत्रसँग सम्बन्धित ७ विषयमा तथ्यगत जानकारी एवं सुझाव प्राप्तिका लागि कार्तिक १६ गते भित्रको समयसीमा निर्धारण गरी सञ्चारका विभिन्न माध्यमहरूबाट सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय भएको बताए ।

विदेशबाट इलेकट्रोनिक सिगरेट भेपमा सुन राखी अवैध तस्करी गरिएको र साउन २ गते ब्रेकशुमा सुन राखी अवैध तस्करी गरिएको लगायतका पटक पटक भइरहेको सुन तस्करीजन्य कसुरको प्रकृति तथा यसबाट पर्ने बहुपक्षीय असरका सम्बन्धमा सुझाव एवम् जानकारी दिइने जनाइएको छ।

सुनको अवैध पैठारीका सम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधारका सम्बन्धमा, यसअघि पटक पटक भएका सुन तस्करी सम्बन्धी छानबिन तथा अध्ययन प्रतिवेदनका अन्तरवस्तु निष्कर्ष तथा त्यसको प्रभावका सम्बन्धमा पनि आवश्यक तथ्यगत जानकारी र सूचना लिइने निर्णय भएको आचार्यले बताए।

मन्त्रिपरिषद्ले केही दिन अगाडी मात्रै जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरेको थियो ।

आयोगको सदस्यमा पूर्वएआइजी सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की, गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी छन् ।