२३ बैशाख २०८३, बुधबार
भारतको उत्तरपूर्वी राज्य सिक्किमस्थित टिस्टा नदीमा हिजो (बुधबार) आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।सेनाका २२ जवानसहित कम्तिमा १०२ जना बेपत्ता छन् । बाढीले बगाएका एक सैनिकको भने जीवितै उद्धार गरिएको छ ।
भारी वर्षाका कारण १७ हजार एक सय फिटको उचाइमा रहेको हिमताल फुटेको र टिस्टा नदीमा बाढी आएको जनाइएको छ । बाढीका कारण सिंगताम सहर डुबानमा परेको छ । बाढीले चुङ्थाङ्स्थित राज्यकै सबैभन्दा ठूलो जलविद्युत् परियोजनाको बाँधको एउटा भाग भत्काएको छ । बाँध भत्किँदा १४ जना कामदार त्यसको सुरुङमा हराइरहेको बताइएको छ ।


बाढीले १४ वटा पुल भत्केको र राज्यका विभिन्न क्षेत्रमा गरी तीन हजारभन्दा बढी पर्यटक अलपत्र परेका छन् । मंगन जिल्लाको चुङ्थाङ, गान्तोक जिल्लाको दिक्चु र सिंगताम तथा पाक्योङ जिल्लाको राङ्पो बाढीले प्रभावित भएका छन् । प्रहरी चौकी पनि बाढीले बगाएको छ ।सिक्किम सरकारले राज्यमा विपत्को घोषणा गरेको छ ।