कोशीका मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिँदै

होमल्याण्ड खबर

२०८० आश्विन १९ गते, शुक्रबार ११:३८ मा प्रकाशित

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएका छन्।

सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता कार्कीले भाेलि विश्वासको मत लिन लागेका हुन्।

उनले बिहिवार नै विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई दिइसकेका छन्।

संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) बमोजिम शनिबारसम्ममा विश्वासको मत लिनैपर्ने बाध्यात्मक अवस्था छ ।

प्रदेशसभा नियमावली २०७४ को नियम १२८ मा विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुने दिनभन्दा दुई दिनअगावै प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्थाअनुसार कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभा सचिवलाई दिएका हुन् ।  विश्वासको मतका लागि शनिबार दिउँसो १ बजे बस्ने प्रदेशसभामा उनले प्रस्ताव पेस गर्नेछन् ।

मुलुकको राजनीतिमा कुनै आश्चर्यजनक परिवर्तन नआए अल्पमतमा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसक्ने प्रस्ट छ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारसहित ४० सांसदको मात्रै मुख्यमन्त्री कार्कीलाई समर्थन रहेको र प्रदेशसभाको निर्वाचनदेखि सहकार्य गर्दै आएको ६ सांसद भएको राप्रपाले एमाले नेतृत्वको सरकारलाई समर्थन नभएको भन्दै साथ छोडिसकेको छ । गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ सांसद छन् । प्रदेशसभाको अंकगणितअनुसार विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री कार्कीसँग ३९ प्रदेश सांसदको मात्रै समर्थन देखिएको छ ।

गठबन्धन दल कांग्रेसले संसदीय दलको बैठकले नै मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । गठबन्धनमा रहेको माओवादीका नेता इन्द्रबहादुर आङ्बो र एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने बताएका छन् । राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता भएकाले पार्टीसँग सल्लाह गरेपछि प्राप्त निर्देशनअनुसार मत दिने वा नदिने विषयमा निर्णय लिने बताए ।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन नभएको प्रस्ट पारेका थिए ।मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्न नसके वा शनिबारसम्ममा पदबाट राजीनामा दिएको अवस्थामा संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठन हुनेछ  ।

कार्की गत भदौ २२ गते मुख्यमन्त्री बनेका थिए।