एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षका लागि ४ जनाको उम्मेदवारी

होमल्याण्ड खबर

२०८० आश्विन २३ गते, मंगलवार ११:२६ मा प्रकाशित

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ।

धनगढीमा जारी प्रथम प्रदेश अधिवेशनअन्तर्गत मंगलबार ४ जनाले प्रदेश अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्।

प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरू तीनै जना अछामका छन्।

अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन्।

तिमिल्सिनालाई प्रदेशका निवर्तमान अध्यक्ष दामोदर भण्डारी लगायतको समर्थन रहेको छ। जैसीलाई पोलिटब्युरो सदस्य कर्ण थापा लगायतको समर्थन रहेको बताइएको छ।

निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो।

साढे ११ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए। उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ।

निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने बताएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौं फर्किएपछि नेताहरु सहमतिको प्रयासमा लागेका थिए तर आकांक्षीहरू धेरै हुँदा सहमति हुन सकेन ।