महरापुत्र राहुलसहित ४ जनाविरुद्ध मुद्दा दर्ता, साढे ७ वर्षकाे कैद सजाय माग

होमल्याण्ड खबर

२०८० आश्विन २४ गते, बुधबार १२:३६ मा प्रकाशित

विद्युतीय चुरोट (भेप)मार्फत् तस्करी गरी ल्याएको सुन प्रकरणमा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महरासहित ४ जना विरुद्ध मुद्दा दायर भएको छ।

काठमाडौं जिल्ला अदालतमा मंगलबार राहुलविरुद्ध मुद्दा दर्ता भएको हो ।

प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राहुल महरा भन्ने रेशम महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएकामध्ये निमा छिरिङ फरार छन् ।  प्रहरीले राहुल महरा लगायतका व्यक्तिहरुलाई भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी लिएको छ ।

मुद्दा दायर भएकाहरुमा बेल्जियन नागरिक दाओजिन वाङलाई आपराधिक विश्वासघात, भन्सार ऐन र संगठित अपराधमा मुद्दा चलाएपनि अन्य तीन जनाको हकमा भने भन्सार ऐन, २०६४ र संगठित अपराधको कसुरमा मात्रै मुद्दा चलाएको हो ।

भन्सार ऐन, २०६४ को दफा ५७ मा बिगोका रकम हेरी १ करोडदेखि ३ करोडसम्मको बिगो भएमा एक वर्षदेखि ३ वर्षसम्म कैद र ३ करोडभन्दा बढी बिगो भएमा ३ देखि ५ वर्षसम्मको कैद सजाय हुने उल्लेख छ । भेपमा सुन लुकाई ल्याएको प्रकरणमा ८ करोड रुपैयाँभन्दा बढीको बिगो कायम गरिएकाले उक्त मुद्दामा उनीहरु दोषी ठहर भएमा कम्तीमा ३ वर्ष र अधिकतम ५ वर्षको कैद सजाय हुनेछ  त्यसबाहेक संगठित अपराधमा पनि उनीहरुको संलग्नता पुष्टी भएमा उनीहरुलाई मुल कसुरमा थप ५० प्रतिशत कैद हुनेछ । यसरी दुवै मुद्दामा दोषी ठहर भएमा अधिकतम साढे ७ वर्ष र न्युनतम साढे ४ वर्षको कैद सजाय हुनेछ ।

प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो सीआइबीमै फिर्ता पठाएको अनुसन्धान प्रतिवेदन थप बयान लिएर हिजो आएकाले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेकाे सरकारी वकिलको कार्यालयले जनाएको छ।