कालापानी क्षेत्रमा पुगे नरेन्द्र मोदी, नेपाली प्रशासन बेखबर

होमल्याण्ड खबर

२०८० आश्विन २५ गते, बिहीबार १२:२६ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्र पुगेका छन्।

मोदी हेलिकोप्टरमार्फत आज बिहान साढे ८ बजे नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन्।

मोदीले जोलिङ्काङमा पूजापाठ गरेका छन् भने कैलाश पर्वतको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसित छलफल गर्नेछन्।

नेपाली अतिक्रमित भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यू, गर्ब्याङ गाउँका स्थानीयबासीसँग समान्य छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

तर दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले माेदीकाे भ्रमणकाबारेमा कुनै जानकारी नगराइएकाे बताइन्।

‘ यसबारे कुनै आधिकारिक जानकारी छैन’, उनले भनिन् ‘त्यस क्षेत्रका विषयमा हामीलाई जानकारी गराइँदैन।’

मोदीको भ्रमण हुने ठाउँहरुमा नेपालीलाई प्रवेशमा समेत रोक लगाइएको छ।

प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन्।

कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालले आफ्नो नक्सामा समावेश गरेको थियाे।