१ चैत्र २०८२, आईतवार
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आज बस्न लागेको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा दश अथवा सो भन्दा बढी अनुपस्थित संसद् सदस्यहरूको अनुपस्थितिको सूचना पेस गर्ने कार्यसूची छ । यसैविच आजै राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक बिहान ११ः३० बजे बोलाइएको छ।
संङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक बर्ष २०७९÷८९को बार्षिक प्रतिवेदन’ सभा समक्ष प्रस्तुत गर्ने छिन्।
रमेशजंग रायमाझीले राष्ट्रिय सभा नियमावली, २०७५ संसोधन मस्यौदा समिति गठन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने तथा प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री अशोककुमार राइले ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०’ बैठक समक्ष प्रस्तुत गर्नेछन्।
साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधायन सम्बन्धी विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।