एमसिसी प्रसारण लाइनको टेन्डर रद्द गरिने, यस्ताे छ कारण

होमल्याण्ड खबर

२०८० आश्विन २६ गते, शुक्रबार १२:५९ मा प्रकाशित

मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले लागतभन्दा बढी मूल्यमा वित्तीय प्रस्ताव परेपछि प्रसारणलाइन निर्माणसम्बन्धी बोलपत्र रद्द गर्ने भएको छ।एमसिए नेपालले मूल्यांकनको चरणमा रहेको उक्त टेन्डर प्रक्रिया रद्द गरेर पुनः टेन्डर आह्वान गर्ने भएको हो।

बुधबार मात्रै अमेरिकाबाट मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)ले उक्त टेन्डर रद्द गरेर नयाँ टेन्डर आह्वान गर्न एमसिए नेपाललाई भनेको हो । एमसिए नेपालले यससम्बन्धी मागेको सुझावमा एमसिसीले यस्तो सिफारिस गरेको हो । त्यसपछि एमसिए नेपाल बोलपत्र रद्द गरेर पुनः टेन्डर प्रक्रियामा जाने निर्णयमा पुगेको छ। अब छिट्टै यसलाई पूर्णता दिने एमसिए नेपालका एक अधिकारीले बताए। सम्भवतः दसैँपछि (कात्तिक दोस्रो सातापछि) नयाँ टेन्डर आह्वान गर्न सकिने उनको भनाइ छ।

यसअन्तर्गत कुल तीन सय १५ किलोमिटर लामा ४ प्रसारण लाइन बन्दै छन् । एमसिए नेपालले त्यसको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान गरेको छ । तर, टेन्डरमा त्यसको न्यूनतम वित्तीय प्रस्ताव भने लागत अनुमानको तुलनामा ६६ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलरको परेको थियो । यो अनुमानित लागतभन्दा १४ करोड ५३ लाख डलर बढी हो ।

एमसिसीको ५० करोड डलर अनुदान र नेपाल सरकारको १९.६७ करोड डलर लगानी गरेर निश्चित ६९.६७ करोड डलरको बजेटमा यसअन्तर्गत चार प्रसारणलाइन, तीन सबस्टेसन र ७७ किमि सडक मर्मत गर्नु रहेको छ। यो रकममा ठेक्का सम्झौता गर्दा बजेट पुग्ने अवस्था छैन। ६५ प्रतिशतभन्दा बढी वित्तीय प्रस्तावलाई छलफलमार्फत घटाउन सक्ने सम्भावना थिएन। त्यो अवस्थामा एमसिए नेपाललाई ठेकदार छनोट गर्न गाह्रो परेको थियो। अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि सुरुबाटै पुनः टेन्डरमा जान एमसिएलाई निर्देशन दिँदै आएका थिए ।

तर, एमसिए नेपालले त्यसबारे निर्णय गरेको थिएन।अहिले आएर एमसिसीले नै नयाँ टेन्डर आह्वान गर्न भनेको स्रोतको भनाइ छ ।