२३ बैशाख २०८३, बुधबार
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि कुटपिट भएको हो ।
घटनामा बेल्जियम निवासी अभियन्ता तथा पत्रकार ओम शर्माको दाँतमा चोट लागेको बताइएको छ । अन्यलाई भने कुनै चोट भने नलागेको बताइएको छ ।


संघका अध्यक्ष आरके शर्माले कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूहरुमाथि हातपात गरेको बताए । उनले आफू कुटपिटका बीच उम्किन सफल भएपनि महासचिव बुद्धि सुवेदीसहित अन्य अभियन्ताहरुमाथि पनि हातपात भएको बताए ।
संघकै सभाहलमा बद्री केसी पक्षले एमाले नेता महेश बस्नेतसहित उपस्थित युवासंघको कार्यक्रम चलिरहेका बेला आरकेसहितका अभियन्ता संघको कार्यालयमा पुग्दा आक्रमण भएको हो ।
‘हामीमाथि युवासंघबाट आक्रमण भएको छ । यो अन्तयन्त निन्दनीय छ’, उनले भने । घटनापछि संघको कार्यालयमा अहिले प्रहरी पुगिसकेको बताइएको छ भने तनावको अवस्था रहेको छ । घटनापछि महेश बस्नेतसहिका युवासंघका कार्यकर्ता बाहिरिएका थिए ।
संघको ११ औँ महाधिवेशनमा बद्री केसी निर्वाचित भएपछि अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले मतपरिणाम स्वीकार गरेका छैनन् । बद्रीलाई अध्यक्ष अस्वीकार गर्दै शर्माको नेतृत्वमा एनआरएनएको नयाँ कार्यसमिति तय भएको छ । शर्माले आफूलाई आधिकारिक दाबी गर्दै आएपनि कार्यालयमा प्रवेश पाएका छैनन् ।