कतार सरकारमार्फत् कुरा गरेर विपिन जोशीकाे उद्धार गर्न विश्वप्रकाशकाे आग्रह

होमल्याण्ड खबर

२०८० कार्तिक १६ गते, बिहीबार १२:२० मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीलाई उद्धारका लागि गम्भीर पहलकदमी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

अक्टोबर ७ देखि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको इसराइलले नेपाल सरकारलाई पत्राचार गरेर जानकारी गराएसँगै उनकाे उद्धारका लागि गम्भीर भएर लाग्न सरकारकाे शर्माले ध्यानाकर्षण गराएका छन्।

‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ। कतार सरकारमार्फत् कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औंल्याइएका छन्। यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न सभामुखमार्फत प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराउँदछु,’ महामन्त्री शर्माले बिहीबार प्रतिनिधि सभा बैठकमा भने।

इसरायल पढ्न गएका नेपाली विद्यार्थी जोशी बेपत्ता छन्। जोशी हमासको नियन्त्रणमा रहेको इसरायलले नेपाल सरकारलाई पठाएको पत्रमा उल्लेख छ।