२३ बैशाख २०८३, बुधबार
प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै महेन्द्रनगरमा र्याली निकालिएको छ।
आइतबार बिहान विपिनका परिवारसँगै विद्यार्थी र अधिकारकर्मीले दबाब दिन र्याली निकालेका हुन्। एक महिनाअघि इजरायलमा हमासले आक्रमण गरी अपहरणमा परेका जोशीको रिहाइका लागि दबाबमुलक रुपमा र्याली निकालिएको हो। नेपाल सरकार, संयुक्त राष्ट्र संघ र मानव अधिकारवादी संघ संस्थाहरुले तत्काल जोशीको रिहाइका लागि पहल गर्नुपर्ने माग गरिएको छ।


महेन्द्रनगरको मदन चोकबाट सुरु गरिएको र्याली बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन गरिएको छ। प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ। ज्ञापन पत्र बुझ्दै प्रजिअ गोपालकुमार अधिकारीले विपिनको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताए।