कांग्रेस सांसदले १५ दिन बराबरको तलब भूकम्पपीडितलाई दिने

होमल्याण्ड खबर

२०८० कार्तिक १९ गते, आईतवार १५:५६ मा प्रकाशित

नेपाली कांग्रेसका सांसदले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि १५ दिन बराबरको तलब सहयोग स्वरुप उपलब्ध गराउनुहुने भएको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदको १५ दिन बराबरको तलब सहयोग गर्ने निर्णय भएको हो ।

प्रमुख सचेतक रमेश लेखकद्वारा जारी विज्ञप्तीमा गत शुक्रबार राति ११ः४७ मा जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पका कारण मानवीय क्षति, भौतिक क्षति सयौँ घाइतेप्रति कांग्रेस संसदीय दल कार्यसमितिले गहिरो दुःख प्रकट समेत गरेको उल्लेख छ ।

यस्तै, बैठकले विनासकारी भूकम्पका कारण जीवन गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको छ ।