२३ बैशाख २०८३, बुधबार
काठमाडौं। ललितपुरकाे पाटन अस्पतालमा उपचाररत २ बिरामीको सुईको माध्यमबाट औषधि दिएलगत्तै मृत्यु भएको छ। शनिबार दिउँसो अस्पताल भर्ना भएका दुई बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएका थिए। त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको हाे।
ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । मृतकका आफन्तले भने स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन् ।


अस्पतालका मेडिसिन विभागका प्रमुख डा. युवराज शर्माका अनुसार उनीहरु दुवै एउटै वार्डमा भर्ना भएका थिए। नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
डा. शर्माका अनुसार राईमा निमोनिया भएको थियो। अक्सिजन दिएर उपचार गरिएको थियो । त्यस्तै, नगरकोटीमा भने निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । तर, नगरकोटीमा उपचारपछि स्वास्थ्य अवस्था राम्रो हुँदै आएको थियो। डिस्चार्ज गर्ने भन्ने चिकित्सकको योजना थियो ।
डा. शर्माका अनुसार राई र नगरकोटीलाई सेफि्ट्रयाक्सोन र रगत पातलो गर्ने औषधि (हेपारिन) र चलाइएको थियो ।
राईको उमेर पनि धेरै भइसकेका हुनाले अन्य कुनै पनि कारणले मृत्यु भएको हुनसक्ने चिकित्सक बताउँछन् । कहिलेकाहीँ रगतको ढिक्का उछिट्टएिर, अचानक मुटुको घड्कन अनियन्त्रित भई मृत्यु भएको हुनसक्ने डा. शर्माले बताए ।
इक्जेन्सन दिएपछि उक्त घटना भएको हुनाले अस्पताल प्रशासनले औषधिलाई परीक्षणको लागि पठाइएको छ। साथै, अन्य बिरामीलाई उक्त औषधि प्रयोग नगर्ने निर्देशन पनि दिइसकेकाे पाटन अस्पतालले जनाएकाे छ।
त्यसैगरी, मृत्युको कारण पत्ता लगाउनका लागि मृत्तकको पोस्टमार्टम गरिने भएको छ ।
गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले आक्रोशित हुँदै हातपात र दुर्व्यवहारसमेत गरेका छन्। डा. शर्माको अनुसार आवासकीय चिकित्सकमाथि हातपात भएको थियो । उनीहरु अहिले आन्दोलनमा उत्रिएका छन् ।