४ मंसिर २०८१, मंगलवार
नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रू २५ लाख सहयोग गर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा कार्यकर्ताबाट रकम सङ्कलन गरेर भूकम्पपीडितलाई सहयोग गर्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
उनकाअनुसार केन्द्रीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, जनप्रतिनिधि एवं राजनीतिक नियुक्ति भएका व्यक्तिबाट १५ दिन बराबरको पारिश्रमिक पार्टीको राहत उपचार कोषमा जम्मा गर्नुपर्ने छ।
भूकम्म प्रभावित क्षेत्रको राहत र उद्धार कार्य व्यवस्थापन, आवश्यक सहयोग तथा अनुगमन गर्नका लागि पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहने गरी एक कार्यदल गठन गरेको छ। कार्यदलमा सांसद अमरबहादुर थापा, नन्दा चपाँई र धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्कालगायत रुकुमपश्चिम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षसहितको टोली रहने प्रवक्ता खतिवडाले बताए।
पार्टी महाधिवेशन आगामी माघमा गर्ने टुङ्गोमा पुगेको प्रवक्ता खतिवडाले बताए। यसको तयारीबारे छलफल नभए पनि अधिवेशन काठमाडौँमा गर्ने निर्णय भएको उनको भनाइ छ।