४ मंसिर २०८१, मंगलवार
यूएईमा हुने जलवायु सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेपालले सहभागिता जनाउने भएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन कोप–२८० यूएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुँदैछ । वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन तयारी थालेको छ ।
कोप–२८ मा नेपालको तयारी अवस्था र सुझाव सङ्कलन कार्यक्रममा प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ डा पपुलर जेन्टलले सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सहभागिता हुनेबारे जानकारी दिए। प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञसम्मिलित रहेको प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिनेछ ।
सबै क्षेत्रबाट सुझाव सङ्कलन गरी नेपालले प्रस्तुत गर्ने स्थितिपत्रलाई अन्तिम रुप दिइने विकास व्यवस्थापन विज्ञ जेन्टलले बताएका छन् । सम्मेलनको पूर्व सन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गरेका थिए । यसले नेपालको जलवायुका मुद्दालाई धेरै उचाइमा पुर्याएको विज्ञको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रभु बुढाथोकीले आयोगले आउँदो पञ्चवर्षीय योजना बनाउँदा जलवायुको अवधारणाअनुसार बनाउन प्रयास गरिरहेको बताएका छन्। वन मन्त्रालयका सचिव डा. दीपक खरालले प्रधानमन्त्रीले सम्मेलनको उद्घाटन सत्रमा हुने दुई दिनको उच्चस्तरीय सत्रमा भाग लिनुहुने र नेपालका मुद्दाका बारेमा सम्बोधन गर्ने जानकारी दिए । नेपालबाट अहिलेसम्म तीन वटा सम्मेलनमा राष्ट्र तथा सरकार प्रमुख स्तरबाट सहभागिता भएको छ ।
सन् २००९ मा डेनमार्कको कोपहेगनमा भएको १५औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल, सन् २०१८ मा पोल्यान्डमा भएको २४औँ सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्यान्डमा भएको २७औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।