इलाम–२ मा हुने उपनिर्वाचनको तयारीमा लाग्न एमालेको निर्देशन

होमल्याण्ड खबर

२०८० मंसिर ६ गते, बुधबार १२:२० मा प्रकाशित

नेकपा एमालेले इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ। एमालेको कोशी प्रदेश कमिटीले हालै जारी गरेको अन्तर कमिटी निर्देशन–२ मार्फत उपनिर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले इलाम जिल्ला कमिटीलाई आवश्यक कार्ययोजनासहित काममा लाग्न निर्देशन दिएको हो ।

एमाले कोशीले जारी गरेको अन्तर कमिटी निर्देशनको ७ नम्बर बुँदामा ‘इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ निकट भविष्यमा हुने उपनिर्वाचनको विषयलाई मध्यनजर गर्दै त्यस जिल्लाले आवस्यक कार्ययोजनासहित काममा लाग्न समेत निर्देशन गरिन्छ’, भनिएको छ ।

गत वर्ष भएको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट एमालेका उपाध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए। नेम्वाङको गत भदौ २५ गते राति हृदयघात हुँदा निधन भएपछि उक्त स्थानको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको थियो। तर सरकारले उक्त स्थानमा कहिले चुनाव गर्ने भन्ने निर्णय गरिसकेको छैन।