प्रसाईंलाई कालोमोसो दलेका युवा संघका नेता राईले मध्यरातमा महिलाहरूलाई लखेटेकाे पुष्टि

होमल्याण्ड खबर

२०८० मंसिर ६ गते, बुधबार १२:४५ मा प्रकाशित

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’मा सहभागी हुन काठमाडाैं आएका समर्थकलाई मध्यरातमा लखेट्ने व्यक्ति युवा संघकै रहेकाे पुष्टि भएकाे छ।

प्रसाईंका समर्थकलाई युवा संघका सचिवालय सदस्य विनोद राई लगायतले मंगलबार राति एक पार्टी प्यालेसमा सुतिरहेको अवस्थामा लखेटेकाे पुष्टि भएकाे हाे। आफूलाई युवा संघका कार्यकर्ता बताउने समूहले उनीहरुलाई लखेटेको भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे छ।

राईको नेतृत्वमा गएको समूहले नै लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूमाथि दुर्व्यवहार गरेको थियो । महिलाहरूलाई सुतिरहेको स्थानबाट उठाएर लखेटिएको भिडियाे सार्वजनिक भएसँगै युवा संघ र एमालेकाे चौतर्फी आलोचना भइरहेकाे छ।

उनीहरु सुतिरहेका बेला ‘हेलो दिदीहरू, फोन गर्नु त युवा संघले लखेटे भनेर ! तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, तपाईंहरु उठिहाल्नु त, ल छिटो गर्नुस्, १० मिनेटको समय दिन्छौँ’ भन्दै फर्किन धम्क्याएको देखिन्छ।

महिलाहरूले भने, ‘पर्खिनुस् न, लुगा त लाउन दिनुस’ भन्दै गरेको देखिन्छ।

विनोद राई माओवादीबाट एमालेमा आएका हुन् । उनको घर खोटाङ दिप्रुङ चुइचुम्बा गाउँपालिका रहेको बुझिएको छ । यसअघि दुर्गा प्रसाईंलाई कालो मोसो दल्ने काम पनि उनैको नेतृत्वमा भएको स्रोतले बताएको छ। तर, उनी पक्राउ भने परेनन् ।