उपकुलपतिहरुको राष्ट्रिय सम्मेलन धुलिखेलमा सुरु

होमल्याण्ड खबर

२०८० मंसिर ८ गते, शुक्रबार १०:३९ मा प्रकाशित

उपकुलपतिहरुको राष्ट्रिय सम्मेलन धुलिखेलमा सुरु भएको छ । उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरणबारे छलफलका लागि उपकुलपतिहरुको सम्मेलन सुरु भएको हो । सबै विश्वविद्यालयका समकक्षीहरुलाई एकै ठाउँमा उपस्थित गराएर उपकुलपति सम्मेलन सुरु भएको हो ।

सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । प्रधानमन्त्रीले नेपालको उच्च शिक्षालाई नेतृत्व गर्ने विश्वविद्यालयका उच्च पदाधिकारी र विद्वानहरुलाई एकै थलोमा आमन्त्रण गरेर ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’को सार विषयमाथि छलफल गर्ने यो प्रयास अत्यन्तै समसामयिक र सह्रानीय रहेको बताएका थिए ।

काठमाडौं विश्वविद्यालयले आगामी महिना आयोजना गर्न लागेको एशोसियसन अफ इण्डियन युनिभर्सिटिजको उत्तरपूर्वीय क्षेत्रका २ सय ५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिहरुको सम्मेलनको तयारी र त्यसमा प्रस्तुत गर्ने नेपालको राष्ट्रिय धारणा बनाउन पनि सहयोगी हुने भएकोले आजको कार्यक्रम विशेष महत्वको रहेको पनि प्रधानमन्त्रीले भने ।
नेपालको उच्च शिक्षा चुनौतीपूर्ण संघारमा उभिएको प्रधानमन्त्री भनाई छ ।