प्रधानमन्त्री प्रचण्ड मङ्सिर १३ गते दुबई जाने

होमल्याण्ड खबर

२०८० मंसिर १२ गते, मंगलवार ११:३२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई जाने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्ने भएका छन् । कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ ।

प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’ को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछन् । प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको ५२औँ सङ्घीय दिवस समारोह र ‘जायेद सस्टेनाबिलिटी प्राइज अवार्ड समारोह’ मा पनि सहभागी हुने कार्यक्रम छ ।

उनले डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेण्डालाई प्रवर्द्धन गर्न ‘हिमालको आह्वानः जलवायु संकटबाट हामीलाई कसले बचाउँछ ?’ शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्दैछन् ।

प्रधानमन्त्री दाहालले उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्र/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ । उनले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरु सहभागी हुनेछन् । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फिर्ता हुनेछन् ।