२३ बैशाख २०८३, बुधबार
सुत्केरीकाे मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन्।
सुत्केरी गराउने क्रममा मंगलबार अस्पतालमा ल्याइएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसंगै विवाद बढ्दा मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन्। नवजात शिशु भने सकुशल भएको अस्पताल ब्यवस्थापनले जनाएको छ।


कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको छ।
अस्पतालका अनुसार मृतकका आफन्तले मृत्युको विषयमा छानबिन गर्ने भन्दा पनि सुरु देखि नै ५० लाख रुपैया क्षतिपूर्ति रकम मागेपछि स्थिति असहज बन्दै गएको थियाे।
छलफलकै क्रममा बिरामीका आफन्तले चिकित्सकहरू माथि कार्यालयकै कुर्ची टेबलका खुट्टा भाँचेर टाउको र छातीमा प्रहार गरेको अस्पताल श्रोतले बताएको छ।
अस्पताल प्रशासनसँग सहमति भई मृतकको शव आफन्तले शव बहनामा राखेर निस्कने तयारी भई सकेपछि केही उत्तेजक समूहको भिड पसेर मेसु बस्यालमाथि आक्रमण गरेको एक चिकित्सकले बताए । अहिले मृतक महिलाको शव अस्पताल परिसरमै शव बहनामा राखिएको छ ।
प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए।