ललितपुर महानगरविरुद्ध अभियन्ता ईः १०८ घण्टा उभिँदै

होमल्याण्ड खबर

२०८० मंसिर २६ गते, मंगलवार १०:४८ मा प्रकाशित

काठमाडौं। अभियन्ता ईःले ललितपुर महानगरपालिका अगाडि मंगलबार दिउँसो ३ बजेदेखि १०८ घण्टा उभिएर विराेध प्रदर्शन गर्ने भएका छन्। उनले फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोध गर्दै उभिन लागेका हुन्।

महानगरपालिकाले पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक महत्त्वका स्थानहरूमा अवरोध परेको भन्दै मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा साँझ/बिहान पनि फुटपाथ पसल राख्न निषेध गरेको थियो ।

‘सहर भनेको कार भएका मानिसको मात्र होइन, सबैका लागि हो भन्ने हेतुले ललितपुर महानगरपालिकाले गर्दै आइरहेको कामको प्रशंसा सबैले गर्दै आइरहेका छन्,’ अभियन्ता ईः ले भने, ‘सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ ।’ उनले बरु कर लेऊ, गरिखान देऊ तर विस्थापन होइन, व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

पाटनका स्थानीयले पनि आफूहरूलाई गरिखान दिन आग्रह गरेका छन् । स्थानीय थटी टोलका पवन शाही दिनभर मजदुर गरेर साँझ उक्त रुटमा मोजा बिक्री गरेर जीविकोपार्जन गर्छन् । उनीजस्तै त्यहाँ साँझ/बिहान तरकारी, लत्ताकपडा त ठेलागाडामा फलफूल राखेर जीविकोपार्जन गर्ने ४ सय देखि ५ सय जना छन् । उनीहरूले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि उनीहरूसँगैको सल्लाहमा बिहान ८ बजेसम्म र बेलुका ५ बजेदेखि व्यवसाय गर्दै आइरहेका थिए । पाटनका स्थानीय पृथविन्दु महर्जनले स्थानीयलाई आफ्नो टोलमा गरिखान दिनुपर्ने बताइन् । ‘विदेशिनुभन्दा स्वदेशमै केही गरिखान्छु भन्नेहरूलाई विस्थापित गर्नु हुँदैन,’ उनले भनिन् ।