४ मंसिर २०८१, मंगलवार
नेकपा एमालेको सङ्कल्प यात्रालाई बिथाेल्न प्रयास गरेकाे आरोपमा खोटाङको हलेसीबाट तीन जना पहिचानवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजेश राईको नाम खुलेको भए पनि अन्यको नाम खुलेको छैन ।
पहिचान पक्षधरले आजैदेखि सो क्षेत्रमा बन्द आव्हान गरेका छन्। एमालेको यात्रालाई कोशी प्रदेशमा अवरोध पुर्याउने पहिचान पक्षधरले चेतावनी दिँदै आएका छन्।
खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले तीन जना पक्राउ परेको पुष्टि गरे। यस्तै प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्र सिं थेगिमले आफूहरूले एमालेको अभियानलाई शान्तिपूर्ण ढंगले अवरोध गर्ने बताए । ‘अवरोध गर्ने हो, बाटो बन्द गर्ने हो शान्तिपूर्ण ढंगले अवरोध हुन्छ,’ उनले भने ।
उता, उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले अहिलेसम्म जिल्लाको अवस्था शान्तिपूर्ण रहेको बताए । उनले जिल्लामा सुरक्षा अवस्था मजबुत रहेको जानकारी दिए ।
मङ्सिर १४ गते महाकालीदेखि सुरु भएको नेकपा एमालेको मध्यपहाडी सङ्कल्प यात्रा आज कोशी प्रदेशको उदयपुरस्थित घुर्मीबाट प्रवेश गर्दैछ । यात्रालाई एमाले अध्यक्ष केपी ओलीले नै नेतृत्व गरेका छन् ।
पहिचानवादीहरूले भने कोशी नामकरणको पक्षमा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सांसद र एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतलाई पूर्वी पहाडी जिल्ला प्रवेशमा अवरोध गर्ने भन्दै बन्द आव्हान गरेका छन्।