एनसेलकाे शेयर खरिद बिक्रीविरुद्धको मुद्दा न्यायाधीश माथेमाको इजलासमा

होमल्याण्ड खबर

२०८० पुष १ गते, आईतवार ११:५८ मा प्रकाशित

एनसेलको शेयर खरिद विक्रीको विवादसम्बन्धी रिटको पेसी न्यायाधीश शुष्मालता माथेमाको इजलासमा तोकिएको छ। स्वतन्त्र सासद अमरेशकुमार सिंहले दायर गरेको मुद्दाको पेसी छैटौंपटक तोकिएको हो।

यसअघि पाँच पटक उक्त मुद्दा पेसी तोकिएपनि सुनुवाइ नहुँदै आएको थियो। एक सातादेखि यो मुद्दा एकपछि अर्को इजलासमा पेसी पर्ने अनि सुनुवाइ नहुने हुँदै आएको छ।

आजियाटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको सेयर करिब ६ अर्ब ६५ करोड (५ करोड अमेरिकी डलर)मा बिक्री गर्ने सम्झौता गरेपछि विवादित हुँदै आएको छ।

बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आजियाटाको ८० प्रतिशत शेयर खरिद गर्ने सम्झौता गरेको हो। यो विषयमा सरकारले छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ। सांसद सिंहले ऐनसेलको शेयर खरिद बिक्री प्रक्रिया तत्काल रोक्न र कानुनी मान्यता नदिने अन्तरिम आदेश हुनुपर्ने माग रिटमा गरेका छन्।