कोरोनाको नयाँ भेरियन्टको जोखिममा नेपाल पनि छ : स्वास्थ्य मन्त्रालय

होमल्याण्ड खबर

२०८० पुष ५ गते, बिहीबार १२:११ मा प्रकाशित

काठमाडाैं। सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टकाे जाेखिम नेपालमा भएपनि तत्काल डराउनुपर्ने अवस्था नरहेको जनाएको छ। स्वास्थ्य मन्त्रालयले पछिल्लो नयाँ भेरियन्टको जोखिम नेपाल पनि बढेको तर नआत्तिन सबैमा आग्रह गरेको हाे।

नेपालको सीमाभन्दा टाढा भारतको केरला राज्यमा सङ्क्रमण देखिएको र यसबाट त्यति धेरै डराउनु नपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए। उनले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था छैन।

डा। बुढाथोकीले विगतमा कोरोनाकै बेला तयार गरिएको सघन उपचार कक्ष (आईसीयू), अक्सिजनलगायत भौतिक पूर्वाधार अहिले पनि आवश्यक परेका बेला प्रयोग गर्न सकिने बताए । तर अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।