आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएपछि यसो भन्छन् मन्त्री किराँती

होमल्याण्ड खबर

२०८० पुष ५ गते, बिहीबार १३:११ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफ्नो अभिव्यक्तिलाई लिएर विरोध हुन थालेपछि प्रष्टिकरण दिएका छन्। मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्नुपर्ने बताएका छन्।

अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्नेमा आफ्नो जोड रहेको उनले बताए। उनले अहिले आफू सबैको अभिभावक रहेको र  सबै अस्तित्वको समान गर्ने बताएका छन्।

उनले भनेका छन्– ‘संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गरौँ ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने मेरो जोड हो, भन्नलाई त मलाई- पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने, फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।’

मन्त्री किराँतीले बुधबार राजधानीमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै उनले ‘क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्। यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने र जेलमा हालिदिने हो’ भनेका थिए। उक्त अभिव्यक्ति अहिले विवादित बनेकाे छ।