४ मंसिर २०८१, मंगलवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको नारायणगढदेखि बुटवलसम्म पदयात्रा सुरु गरेको छ। नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आज बिहान गैँडाकोट पुल्चोकबाट पैदलयात्रा सुरु गरेको रास्वपाले जनाएको छ। ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान तीन दिनसम्म चल्नेछ।
यात्रामा पार्टी सभापति रवि लामिछानेसहित, पार्टीका नेता, सांसद, कार्यकर्ता सहभागी हुनेछन्। नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर हिँडेर नै रास्वपाले दबाब यात्रा गर्ने जनाएको छ।
पैदल यात्राका क्रममा पार्टीको झण्डा, लोगो, टि–सर्ट लगायतका कुनै पनि सामग्री प्रयोग नगर्न रास्वपाले आग्रह गरेको छ।