६ चैत्र २०८२, शुक्रबार
आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन्। मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन गत मंसिर २० मा सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्चको आदेश कार्यान्वयन गर्न आरतीको पतिलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले पुष्टि गरे ।


गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा आरती मृत अवस्थामा फेला परेकी थिइन्। आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।
जिल्ला अदालतले उनी दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत जनकपुरको आदेशमा उनीहरू साधारण तारिखमा रिहा भएका थिए।
दाइजोको निहुँमा आरतीको हत्या पति र ससुराले नै गरेको भन्दै माइत पक्षले जनकपुरधाममा पटक पटक आन्दोलन गरे । तर प्रहरीले नै फितलो अनुसन्धान गरी मुद्दालाई कमजोर बनाएपछि उच्च अदालतले उनका पति र ससुरालाई छाडिएको माइती पक्षको आरोप छ । उनीहरू सर्वोच्च अदालत पुगेपछि आरतीका पतिलाई पुनः पक्राउ गरी थुनामा पठाउन आदेश जारी गरेकाे थियाे।
छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनी, भई मामा लगायत करिब तीनमहिनादेखि काठमाडौंको माइतीघरमण्डलमा धर्ना दिँदै आएका छन्।