संक्रणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन दलहरु सहमत

होमल्याण्ड खबर

२०८० पुष १० गते, मंगलवार १०:२५ मा प्रकाशित

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसदको आगामी अधिवेशनको पहिलो एजेण्डा बनाउन प्रमुख तीन दल सहमत भएका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन छ।

विधेयकका अधिकांंश विषयमा सहमति जुटाएको उपसमितिले चार विषयमा तीन दलको शीर्ष तहमा सहमति खोजिएको थियो ।

सोमबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा चार वटै विषयमा सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् ।

बैठकपछि एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले भने, ‘केही दिनमा पुनः शीर्ष नेताहरुको छलफल गर्ने र संसदको आगामी अधिवेशनमा लैजाने निष्कर्ष छ ।’

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । तीन नेताले विधेयकबारे कांग्रेस प्रमुख सचेतक रमेश लेखकसँग ब्रिफिङ लिएका थिए ।

आइतबार भएको सहमति अनुसार सोमबारको छलफलमा तीन दलबाट अरु नेता पनि सहभागी भएका थिए । कांग्रेसबाट उपसभापतिद्वय उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कानुनमन्त्री धनराज गुरुङका साथै वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सहभागी भएका थिए ।

एमालेबाट सचेतक बर्तौला र पूर्वकानुनमन्त्री अग्नि खरेल र माओवादीबाट उपसमहासचिव वर्षमान पुन र खिमलाल देवकोटा पनि सहभागी भएका थिए ।