नयाँ रेकर्ड बनाउने गरी काम भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

होमल्याण्ड खबर

२०८० पुष १० गते, मंगलवार १२:४० मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा सेवा र सुशासनको क्षेत्रमा नयाँ रेकर्डहरू बन्ने क्रम जारी रहेको बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा १३१औँ माओ दिवसलाई सम्बोधन गर्दै उनले बितेको १ वर्षमा पनि रेकर्ड बनेको र अबको एक वर्षमा सेवा, विकास र सुशासनका क्षेत्रमा थप नयाँ रेकर्ड बन्ने बताए।

उनले भने- ‘सरकारले एक वर्ष पूरा गरेको छ। योबीचमा केही न केही रेकर्डहरू त बनेकै छन्। त्यसलाई गहिरो गरी महसुस गर्नेहरूले थाहा पाउनुभएको छ। अब नयाँ वर्षमा नयाँ ढङ्गले काम गर्ने प्रण गरेको छु। म आफैँले नयाँ ढङ्गले काम थालिसकेको छु । अबको वर्ष सरकारले प्रदान गर्ने सेवाको क्षेत्रमा, विकासको क्षेत्रमा र सुशासनको क्षेत्रमा केही न केही रेकर्डहरू बनाउँछ, बनाउनै पर्छ ।’

प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनेमा जोड दिँदै त्यसका लागि आफ्नो नेतृत्वको वर्तमान सरकार क्रियाशील रहेको बताए।