सरकारले एक वर्षमा गरेका कामबाट उत्साहित हुनुपर्ने अवस्था छैन् : बाबुराम भट्टराई

होमल्याण्ड खबर

२०८० पुष १० गते, मंगलवार १४:०१ मा प्रकाशित

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् डा.बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको एक वर्षे कार्यकालको मूल्यांकनबाट उत्साहित हुनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले सरकारबारे साे टिप्पणी गरेका हुन् । सरकारले प्राथमिकता दिएका र दिनुपर्ने प्रमुख काम सुशासन, आर्थिक सुधार, शान्तिप्रकृयाको पूर्णतालगायतमा उल्लेख्य प्रगति नदेखिएको उनको ठहर छ । यसको जिम्मेवारी औपचारिकरूपमा सरकारको नेतृत्व गर्ने दल र व्यक्ति अर्थात प्रधानमन्त्री प्रचण्ड र नेकपा माओवादीले लिनुपर्ने उनको तर्क छ।

‘सरकारको एकवर्षे कार्यकालको मूल्यांकन गर्दा खासै उत्साहित हुनुपर्ने अवस्था नरहेको जोकसैले स्वीकार्न करै लाग्छ। सरकारले प्राथमिकता दिएका र दिनुपर्ने प्रमुख काम सुशासन, आर्थिक सुधार, शान्तिप्रकृयाको पूर्णता लगायतमा उल्लेख्य प्रगति नदेखिनुमा औपचारिक रूपमा सरकारको नेतृत्व गर्ने दल र व्यक्तिले जिम्मेवारी लिनुपर्ने त हुन्छ नै । तर अन्तर्यमा गएर हेर्ने हो भने रामप्रसाद, रामबहादुर रामकुमारीको ठाउँमा श्यामप्रसाद, श्यामबहादुर, श्यामकुमारी नै भएको भए पनि वर्तमान निर्वाचन प्रणालीरशासकीय स्वरूप अन्तर्गत उन्नाइसको ठाउँमा बीस बाहेक अरू हुन गाह्रैपर्छ भन्ने कटुसत्यलाई पनि सबैले स्वीकार्नैपर्छ।’ भट्टराईले लेखेका छन् ।

यो निर्वाचन प्रणालीबाट कसैको पनि सुविधाजनक बहुमत नआउने भएकाले संघमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्री र पूर्णसमानुपातिक संसदरप्रदेशसभाको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।