४ मंसिर २०८१, मंगलवार
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा दुई सिटमा प्रतिस्पर्धा हुँदैछ । खस आर्य १ (रमेशजंग रायमाझी) र खस आर्य महिला १ जना (बिना पोखरेल)को पदावधि आगामी फागुन २० गते सकिँदैछ ।
कांग्रेसले दुई पदका लागि ७० जना उम्मेदवारको नाम सिफारिस गरेको बताएको छ । सत्ता गठबन्धनमा भागबण्डा हुँदा एकजना कांग्रेसको र एक जना माओवादीको कोटामा पर्ने बताइरहेको छ । यद्यपि कांग्रेसले भने दुई पदका लागि नै उक्त सङ्ख्यामा उम्मेदवारको नाम सिफारिस गरेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा आकाङ्क्षी लर्को लागेपछि व्यवस्थापन गर्न समस्या भएको भन्दै सोमबार बसेको कांग्रेसको कोशी प्रदेश समितिको बैठकले यस्तो सिफारिस गरेको हो । स्रोतका अनुसार दलित, अल्पसङ्ख्यक, महिला कोटाबाट नै २२ जना र अन्य कोटाका लागि ४८ जनाको नाम सिफारिस गरेको हो ।
जिल्ला जिल्लाबाट आएका नामहरूलाई प्रदेशले अनुमोदन गरेर पठाएको कांग्रेसका महामन्त्री भूपेन्द्र राईले जानकारी दिए । ‘हामीले जिल्लाबाट नाम मगाएका थियौँ,’ राईले भने, ‘जिल्लाबाट सिफारिस भएर आएका नामलाई जस्ताको त्यस्तै पठाएका छौँ ।’
यसमा कृष्णप्रसाद सिटौला र सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजङ्ग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डिला सङ्ग्रौला र रुक्मिणी कोइरालालगायतको रहेको छ । बैठकले ७० जना भन्दा बढीको नाम सिफारिस गरेको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता समेत रहेका प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीले पुष्टि गरे ।
चुनावमा पराजय बोकेका नेताहरूलाई राष्ट्रियसभामा लानुहुँदैन भन्ने आवाज कांग्रेस कै नेताहरूले उठाइरहेका बेला कोशी प्रदेशबाट भने गत चुनावमा पराजय भएका नेताहरूलाई प्राथमिकता दिइएको छ । कृष्णप्रसाद सिटौला र सुजाता कोइराला प्रतिनिधिसभाको निर्वाचनमा पराजय भएका थिए ।
दलहरूलाई चुनाव चिन्ह प्रदान गरी आयोगले पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका प्रकाशन गरेको छ । माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान कार्य गरिने आयोगले यसअघि नै जनाएको थियो ।