सन्दीपविरुद्धको मुद्दामा बहस जारी

होमल्याण्ड खबर

२०८० पुष ११ गते, बुधबार १४:१२ मा प्रकाशित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दामा जिल्ला अदालत काठमाडौंमा बहस जारी रहेको छ। बिहान साढे १० बजेबाट बहस सुरू भएको अदालत स्रोतले जानकारी दियो। न्यायाधीश शिशिरराज ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरू भएको थियो। पहिलो दिन वादीका पक्षबाट ३ जना सरकारी वकिलहरुले बहस गरेका थिए। आज पनि वादी पक्षका वकिलहरुले बहस गरिरहेका छन् । उनीहरुको सकिएपछि सन्दीपका वकिलहरुले बहस गर्नेछन् ।

बहसको रफ्तार हेर्दा आजै फैसला आउन सक्ने कम सम्भावना देखिन्छ । यसअघि नै दुवै तर्फका वकिलहरुले बहस नोट बुझाइसकेका छन्। तर, वकिलहरूको संख्या धेरै भएकाले आज नसकिने देखिएको हो। वादी र प्रतिवादी दुवै तर्फबाट आधा दर्जनभन्दा बढी कानून व्यवसायी छन् ।

मुद्दामा प्रतिवादी सन्दीपका तर्फबाट हाइप्रोफाइल वकिलहरूले बहस गर्दैछन्। पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले सुरूदेखि यो मुद्दामा बहस गर्दै आएका थिए । यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि सन्दीपको पक्षबाट बहस गर्नेछन्। अन्य कानून व्यवसायीमा कृष्ण सापकोटा, सविता भण्डारी, सरोज घिमिरे, मुरारी सापकोटा र थप एक वकिल छन् ।