सिराहकाे जिल्ला अदालत परिसरमै मिटरब्याजीबाट कुटिए पीडित महिला

होमल्याण्ड खबर

२०८० पुष १२ गते, बिहीबार ११:०२ मा प्रकाशित

सिराह जिल्ला अदालत परिसरमै मिटरब्याजीबाट मिटरब्याजपीडित दुई महिला कुटिएका छन्। मिटरब्याजसम्बन्धी मुद्दाको बकपत्रका लागि अदालत पुगेका विष्णुपुर गाउँपालिका– १ घर भएका ककुल्तीदेवी यादव र सुकुमारीदेवी साहलाई बुधबार अपराह्न साहुकार श्याम निरौलाले कुटपिट गरेका हुन् । न्यायालयपरिसरमै अत्याचार भएपछि साँझदेखि करिब दुई सय पीडित जिल्ला प्रहरी कार्यालयबाहिर धर्नामा बसेका छन् ।

साहुकार निरौला गत २० असारमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी मुद्दामा अदालतबाट धरौटीमा रिहा भएका थिए । कुटपिट गरिएका यादव र साहसहितका ३६ पीडितले गत २४ जेठमा उनीविरुद्ध जाहेरी दिएका थिए । रिहा भएपछि निरौलाले गाउँमा घरघरमै गएर गालीगलौज गर्नुका साथै धम्क्याउँदै आएको पीडितहरू बताउँछन् ।

साह र यादवको बुधबार साक्षी बकपत्रको पालो थियो । साहुकार निरौला पनि छोरासहित अदालतमै थिए । बकपत्र सकिएपछि फर्किने क्रममा परिसरमै साह र यादवलाई समातेर ‘तिमीहरू अझै मेरो पछाडि लागेका छौ, तिमीहरूले के गर्न सक्छौ, हिरासतमा त राख्न सकेनौ’ भन्दै बाउछोराले कुटपिट गर्न थाले । केहीबेरपछि प्रत्यक्षदर्शीहरूले उनीहरूलाई जोगाएका थिए ।

‘बकपत्र गरेर फर्किने क्रममा निरौला र उनका छोराले दुईजना पीडित महिलालाई अदालत परिसरमै कुटपिट गरे । न्यायका लागि अदालत पुगेका थियौँ, त्यहीँ पनि साहुकारले कुटपिट गर्‍यो,’ मिटरब्याजविरुद्ध संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले भने, ‘त्यसपछि हामीहरू जिल्ला प्रहरी कार्यालयअगाडि धर्नामा बसेका हौँ । निरौलामाथि थप कानुनी कारबाहीको प्रक्रिया अगाडि नबढाएसम्म धर्नामा बस्छौँ ।’ धर्नामा बस्दा पनि सुरुमा प्रहरीले ‘बल प्रयोग गरेर हटाउँछौँ’ भन्दै धम्क्याएको उनले बताए । पीडितहरू बुधबार साँझदेखि धर्नामा बसेका छन् ।

कुटपिटपछि प्रहरीले निरौलालाई पक्राउ गरेर हिरासतमा राखेको छ । कुटपिटमा संलग्न उनका छोरालाई भने अझै पक्राउ नगरिएको संघर्ष समितिमा संयोजक पासवानले बताए ।