बोलीबाट नभई कामबाट नतिजा खोजौँ : मन्त्री गुरुङ

होमल्याण्ड खबर

२०८० पुष १२ गते, बिहीबार १५:२४ मा प्रकाशित

वालिङ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले बोलिले होइन कामबाट नतिजा खोज्नुपर्ने बताएका हुन् ।

‘बोलीबाट नभई नागरिकलाई कामबाट नतिजा दिनुपर्छ’, उनले भने, ‘नेतृत्वको परीक्षण कामको मूल्याङ्कनबाट गर्ने भएकाले परिणाम आउने गरी काममा ध्यान दिनु जरुरी छ ।’

मन्त्री गुरुङले स्थानीय सरकारका रुपमा चापाकोट नगरपालिकाले गाउँ–गाउँका नागरिकलाई लक्षित गरी वडा–वडामा विशेषज्ञसहितको स्वास्थ्य सेवाको पहुँच पुर्याएर नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताए ।

स्याङ्जाको चापाकोट नगरपालिकाले प्रत्येक वडामा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ । नगरवासीलाई आफ्नै ठाउँमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने मुख्य उद्देश्यसहित आजबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नगरप्रमुख देवबहादुर खाणले बताए ।

आज वडा नं ६ को साँखर स्वास्थ्य चौकीबाट सुरु भएको स्वास्थ्य शिविर पुस २७ गते वडा नं ९ को चापाकोट अस्पतालमा आएर सकिने छ । वडामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य सेवा केन्द्रबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिने भएको हो ।

शिविरमा विशेषगरी निःशुल्क स्वास्थ्य जाँच, भिडियो एक्सरे, इसिजी, परिवार नियोजन, आँखा परीक्षण, दन्त परीक्षण, प्रयोगशाला र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने भएको हो ।